News

बादी समुदायलाई छाक टार्नै मुस्किल, प्रदेश सरकारले दियो १६ करोड

बादी समुदायलाई छाक टार्नै मुस्किल, प्रदेश सरकारले दियो १६ करोड

–विमलबहादुर विष्ट

डोटी, ५ वैशाख (रासस) : लकडाउनका कारण बादी समुदायलाई निकै सकस भएको छ । दर्जनौँ घरपरिवार बादी समुदाय सरकारी जमिनमा बस्दै आफ्नो गुजारा चलाउँदै आएकामा हाल घरमा खाद्यान्न अभाव भएपछि उनीहरू भोकै बस्नुपर्ने अवस्था गुनासो गर्छन् ।

दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षलय नजिकको सरकारी जमिनमा वर्षौँदेखि बस्दै आएका भूमिहीन सुकम्वासी बादी समुदायलाई छाक टार्नै मुस्किल हुँदै आएको छ । दैनिक ज्यालादारी काम तथा बजारमा सरसामान लोडअनलोड गरेर जीवन निर्वाह गर्दै आएका बादी समुदाय अहिले लकडाउनपछि निकै समस्यामा परेका हुन् ।

ज्यालाको काम तथा सवारी साधन बन्द भएपछि आफूहरूको भान्सामा चुलो बल्नसमेत मुस्किल हुन थालेको स्थानीय तेजबहादुर बादीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “लकडाउनले बजारमा काम पाउनै छाड्यो, साँझ बिहानको खाना पनि कसरी खाने भन्ने चिन्तामा छौँ, हामी रोगले भन्दा पनि भोकले मर्ने भएका छौँ ।” जिल्लाका विभिन्न स्थानीयत तह तथा वडामा राहत वितरण गर्न थालिएको भए पनि आफूहरूलाई अहिलेसम्म कसैले पनि राहतसमेत नदिएको सोही टोलमा बस्ने अर्का २९ वर्षीय श्याम बादीले बताउनुभयो ।

डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल पिपल्ला जोड्ने डा केआइसिंह राजमार्गमै बादी समुदाय बस्दै आएका भए पनि सोही सडकको बाटो भएर जानेहरूले अहिलेसम्म कसैले पनि उनीहरूको अवस्थाका बारेमा सोधपुछसमेत नगरेको बादीहरूको गुनासो छ ।

घरबार तथा जमिन नभएर सुकम्वासी भएका यहाँका बादीहरूलाई दिपायल सिलगढी नगरपालिकाले आवासका लागि केही महिना पहिले जमिन खरिद गरे पनि रकम नहुँदा उनीहरूले घरसमेत बनाउन सकेका छैनन् । कमाइखाने नाममा एक रोपनी जमिन पनि नभएका कारण बादी समुदायका व्यक्ति दैनिक मजदुरी गरी जीवनयापन गर्दै आएका थिए । लकडाउनका कारण मजदुरीको कामसहित उद्योग, बजारलगायत अन्य पसल बन्द भएपछि बादीहरूलाई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ भएको दिपायल पिपल्लाका स्थानीय रामबहादुर विष्टले बताउनुभयो ।

करिब पाँच घरपरिवार रहेको उक्त टोलमा कम्तीमा पनि १२÷१५ जना बादी बस्दै आएका छन् । घरमा खानेकुरा नभएका कारण आफ्ना छोराछोरी दुई दिनदेखि एक छाक खाएर बसेको अर्का स्थानीय गणेशबहादुर बादी (दास) ले बताउनुभयो । बजारमा पछिल्लो समय भित्रिएका प्लाष्टिकका आधुनिक भाँडाका कारण बादी समुदायले बनाउँदै आएका माटाका भाँडासमेत बिक्री वितरण हुन बन्द भएका कारण उनीहरूलाई कमाइ गर्न समस्या हुँदै आएको थियो तर अहिले कोरोना भाइरसका कारण एकाएक भएको लकडाउनले बादीहरूलाई बिहान–बेलुकीको छाक टार्नै मुस्किल भएको छ । सडक छेउमा पालको कटेरो बनाएर बसेका बादीहरू रोगले भन्दा भोकले मर्नेमा बढी चिन्तित बनेका छन् । छोराछोरीको ज्यान जोगाउनलाई भए पनि खानेकुराको राहत दिन उनीहरूले सबै निकयसँग आग्रहसमेत गरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बादी समुदायलाई खाद्यान्न वितरणका लागि नगरपालिकाले विशेष पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बादी समुदायसहित विपन्न वर्गका लागि खाद्यान्न वितरण गर्ने तयारीमा छौँ, निश्चिन्त हुनुस्, हामी भोकले कसैलाई पनि मर्न दिनेछैनौँ ।”

प्रदेश सरकारले दियो १६ करोड

लकडाउनका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकलाई वितरण गर्न प्रदेश सरकारले स्थानीय तहलाई रु १६ करोड राहत रकम पठाएको छ । प्रदेश सरकारले गरिब, असहाय र विपन्नलाई प्रतिपरिवार रु तीन हजारका दरले उक्त राहत वितरण गर्ने घोषणा गरेअनुसार प्रदेशस्थित सबै स्थानीय तहलाई रु १६ करोड बजेट पठाएको प्रदेश सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले लकडाउनका कारण दैनिक छाक टार्न समस्यामा परेका यहाँका प्रतिपरिवार ३० किलो चामल, तीन किलो दाल, दुई प्याकेट नुन, दुई लिटर खानेतेल, चार साबुन र दुई किलो चिनी वितरण गर्ने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो । (रासस)

विशेष