ट्रम्पले भने-'एउटै मास्क २० पटक प्रयोग गर्नुस्'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना (कोभिड-१९) संक्रमण थप फैलन नदिन लकडाउन गर्नेबारे आफूले केही नसोचेको बताएका छन्। पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अहिले नै देशभित्र चलिरहेका रेल र आन्तरिक उडान रोक्नेबारे पनि कुनै विचार नगरेको उल्लेख गरेका हुन्।
'लकडाउन' लगाउने फैसला गर्दा देशको अर्थव्यवस्थामा असर पर्नसक्ने भन्दै उनले धेरैभन्दा धेरै मानिसहरुको स्वास्थ्य परीक्षण गर्नेबारे आफूले सोचिरहेको उनको भनाई थियो। ट्रम्पले एउटै मास्क २० पटकसम्म प्रयोग गर्न पनि सुझाएका छन्। गत मंगलबार त उनले मास्क नहुनेहरुलाई कपडाले मुख छोप्न आग्रह गरेका थिए।
निकै तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहँदा अमेरिकामा एन ९५ मास्क र सर्जिकल मास्क अभाव भएको तथ्य बाहिरिएको छ। आफूहरुलाई एउटै मास्क बारम्बार प्रयोग गर्न र त्यो पनि उपलब्ध नभए कपडाले मुख छोपेर काम गर्न भनिएको स्वास्थ्यकर्मीले बताएका छन्।
कोरोना संक्रमणले महामारीको रुप लिएपनि अमेरिकी सरकारले निकै लामो समयसम्म आफ्ना नागरिकलाई मास्कको प्रयोग गर्न भनेको थिएन।