Technology News

नेपाल टेलिकमले ल्यायो जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा

नेपाल टेलिकमले ल्यायो जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा

काठमाडाैं । लकडाउनलाई मध्यनजर गर्दै नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ । टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले साेमबार राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् ।

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ ।

सो प्याकेज प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।

कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरहरूमा सो प्याकेज उपलब्ध नगराइने टेलिकमले जनाएको छ। साथै, परिस्थिति र आवश्यकता अनुसार आगामी दिनहरूमा पनि कम्पनीले यस्ता योजनाहरु लागू गर्न सक्नेछ र सोको लागि मापदण्ड तयार गरी छनौट हुने नम्बरका ग्राहकलाई एसएमएस मार्फत नै जानकारी गराइने पनि बताइएको छ ।

यसैगरी कम्पनीले लकडाउन शुरु भएको मितिदेखि शुन्य व्यालेन्स भएका तर आगमन कल निषेध नभएका (अर्थात २४ मार्च २०२० पछि शुन्य व्यालेन्स भई रिचार्ज नभएका) प्रिपेड ग्राहकहरूले समेत प्याकेज प्रयोग गर्न तथा आगमन कल उठाउन सक्ने बनाउनको लागि आवश्यक न्यूनतम व्यालेन्स थप्नुका साथै उक्त नम्बरहरूको म्याद समेत ३० अप्रिल २०२० सम्म बढाउने निर्णय गरेको टेलिकमले जनाएको छ ।

विशेष