एकाविहानै कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट ३ जना फरार
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ मा रहेको क्वारेन्टाइनबाट मंगलबार विहान तीन जना भागेका छन् । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका अन्य २ जनासहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
तर, मंगलबार बिहान उनीहरु क्वारेन्टाइनबाट भागेको कावासोती वडा न १ का वडा अध्यक्ष नारायण पन्तले जानकारी दिए । उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुदियानाबाट घर आइपुगेका थिए ।
कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । वडाअध्यक्ष पन्तका अनुसार उनीहरुले नगरप्रहरीलाई छलेर भागेका हुन् ।
फरार रहेका व्यक्तिको अहिले नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए ।
कावासोती नगरपालिकामा हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जना घर फर्किएका छन् भने बाँकी ११ जना मध्ये तीन जना भागेपछि अहिले ८ जना नगरपालिकाको क्वारेन्टाइनमा रहेको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । अहिले कावासोती १ र १७ नम्बर वडाको क्वारेन्टाइनमा मात्र मानिसहरु रहेका छन् ।