उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण भएकाे आशंका, पुनः परीक्षण हुँदै
काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।
कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताए । नेपालमा अहिलेसम्म ३१ जनामा कोरोन संक्रमण देखिएको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको देशका विभन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।