News

सांसद सुरेन्द्र यादव 'अपहरण' प्रकरणमा पूर्व आइजीपी सर्वेन्द्र खनालले मुख खोले

सांसद सुरेन्द्र यादव 'अपहरण' प्रकरणमा पूर्व आइजीपी सर्वेन्द्र खनालले मुख खोले

काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ ।

सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ । ‘अस्ति हामी (खनाल, महेश बस्नेत र किसान श्रेष्ठ) भक्तपुरमा बसेका थियौं, डा. सुरेन्द्र यादव आउन खोजेको तर अझै डराइरहेको भन्ने कुरा बुझियो’, खनालले भने, ‘अनि, उहाँलाई परामर्शका लागि काठमाडौं नै आउनू भन्ने कुरा भयो ।’

खनालले नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठसँग महोत्तरी गएको, समाजवादीका सांसद यादवको घरमा गएर खाना खाएको बताए। ‘समाजवादीका सांसद यादव, अर्का सांसद उमाशंकर अरगरीया तथा नेकपाका २ सांसदसँगै म काठमाडौं आएको हो। काठमाडौं आउनुअघि सांसद यादवकै घरमा खाना पनि खाएका हौं,’ खनालले भने, ‘तर यसलाई पूर्वप्रधानमन्त्री भट्टराईले अपहरणको रुपमा चित्रण गर्नु अशोभनीय हो।’

खनालले आफू विगतमा प्रहरी भए पनि अहिले सामान्य नागरिक भएको बताउँदै भने, ‘मैले हिँजो पुलिस भएर काम गरेँ । अहिले नागरिक भएर गरिरहेको छु । कुरा गर्नै नहुने, साथी भाइ नै नहुने भन्ने त होइन नि !’ चर्चा गरिएजस्तो ‘अपहरण’ नभई आफ्नै ईच्छामा डा. यादव काठमाडौंसम्म आएको खनालले बताए ।

विशेष