प्रदेश सरकारको दाबी - भारत र दुबईबाट फर्किएकाबाट भुल्केमा संक्रमण फैलियो
काठमाडाैं । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट रोजगारीका लागि भारतको गुजरातस्थित सुरत र वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएर फर्केका दुईजनाबाट कोरोना भाइरसको संक्रमण फैलिएको दाबी प्रदेश सरकारले गरेको छ ।
प्रदेश सरकारले सुरुमा भुल्केको नुरी मस्जिदमा बसेका १२ जना भारतीय जमातीबाटै संक्रमण फैलिएको आशंका गरेको थियो। तर कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा दुबई र भारतको सुरतबाट फर्केका युवकबाट संक्रमण फैलिएको प्रदेश सरकारले निष्कर्ष निकालेको छ।
भारत र दुबईबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको निष्कर्ष निकालेको प्रदेश सरकारले यस अबधीमा भारत र तेस्रो मुलुकबाट आएकाको अवस्था बारे भने गम्भिर देखिएको छैन। फागुन २५ गते यता यस प्रदेशमा प्रवेश गर्नेहरुको सीमा नाकामा गरेको स्वास्थ्य परीक्षणको तथ्यांक अनुसार भारत र तेस्रो मुलुकमा बस्दै आएका २ लाख ५ हजार ७ सय ८५ जना यस प्रदेशमा फर्केर आएको प्रदेश १ प्रहरीले जनाएको छ।
भुल्केमा संक्रमण फैलाएका दुई युवा मात्रै संक्रमित भएर आएका थिए की अन्य व्यक्तिमा पनि संक्रमण छ भन्ने बारे सरकार मौन छ। यसले प्रदेशभर नै संक्रमणको जोखिम बढाएको चिकित्सकहरुको भनाइ छ।