भैसेपाटीमा प्रचण्ड पक्षका सचिवालय सदस्यको भेला, के भयाे कुराकानी ?
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेका २ बिबादित अध्यादेशबारे जताततै चर्को आलोचना भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड पक्षले काठमाडाैंमा गाेप्य भेला गरेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत६ जना सचिवालय सदस्यकाे भेलाले सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने निश्कर्ष निकालेकाे छ। साथै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने पनि निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री र मन्त्री बाहेकका सचिवालय सदस्यहरु भेला भएको एक सचिवालय सदस्यले बताए। 'समग्र परिस्थितिको समीक्षा गर्न र आगामी कार्यभार तय गर्नका निम्ति सचिवालयको र स्थायी कमिटीको बैठक बस्न पर्छ भन्ने कुरा भएको छ' ती सचिवालय सदस्यले भने,'सरकारले ल्याएको अध्यादेश पनि अबिलम्ब फिर्ता लिनपर्छ भनेर हामीले भनेका छौ।'
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओली सकारत्मक भएका छन्। सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुनेगरी अध्यादेश ल्याएको थियो। अध्यादेश फिर्ता गर्नका लागि नेकपाभित्र ठूलो दबाब परेको छ।
भैसेपाटीस्थित उपाध्यक्ष बामदेब गौतमको निवासमा भएकाे भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहभागी थिए।
नेताहरुकाअनुसार सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना छ । बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।