मन्त्रिपरिषदको निर्णयानुसार जारी भएका विवादित २ अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज भएका छन् । सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी जानकारी दिएका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश २ वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गरी राजनीतिक दल विभाजको व्यवस्थालाई खुकुलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको थियो । यस्तै, संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्वलाई निस्प्रभाही बनाउन संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याइएको थियो ।
विश्वाव्यापी रुपमा नै कोरोना भाइरसको महामारी रहेको अवस्थामा सरकारले अनावश्यक रुपमा अनुपयुक्त अध्यादेशहरु ल्याएको भन्दै सत्तारुढ दल नेकपा भित्रै नेताहरुले चर्को विरोध गरेका थिए । यस्तै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका नेताहरुले समेत सरकारले ल्याएको अध्यादेशको विरोध गरेका थिए ।
यसअघि शुक्रबार नै बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषदले गरेको निर्णयानुसार राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरिदिएकी हुन् ।