कोरोना नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङ टोली गठन
कोरोना रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम थप व्यवस्थित गर्न भन्दै विभिन्न स्थानीय निकायमा सहजीकरणका लागि टोली गठन गरिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ट्रेसिङ तथा ट्रयाकिङ बालियो बनाउन स्थानीय तहलाई परिचालन गर्न टोली गठन भएको बताए।
जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाका व्यक्ति, प्यारामेडिक्स वा नर्स गरी ३ सदस्यीय टोली बनाइएको छ। हरेक गाउँपालिकामा एउटा समूह, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले उक्त टिम ट्रेसिङ तथा ट्रयाकिङका लागि परिचालन हुने मन्त्रालयले जनाएको छ।
शुक्रबार नयाँ संक्रमित थपिएका छैनन्। हालसम्म कोरोना संक्रमितको संख्या ४८ छ जसमा १० जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म नेपालमा आरडिटी विधिबाट ३८ हजार ८९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ४ सय ७ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४७ हजार ४ सय ९६ वटा परीक्षणहरु भएका छन्।
त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८९ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन्। क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन्।