काठमाडौं कोरोना बिरामी मुक्त भएपछि प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त हुँदा सन्तोष लागेको बताएका छन् । शुक्रबार बिहान आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट ट्विट गर्दै यस्तो बताएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ ।’ उनले डिस्चार्ज भएका सबैको सुस्वास्थ्यको कामना गरेका छन् ।
'कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।'
८१ वर्षीया महिला पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकी हुन् । उनी र उनको ५८ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिनको उपचारपछि उनीहरु दुवै जना बिहीबार डिस्चार्ज भएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।
कोरोना भाइरसको फैलावटबाट बच्नको लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भइसकेको छ । यो समयसम्म नेपालमा कूल संक्रमित ४८ जना र उपचार पछि निको भएर घर फर्किएहरू नौ जना छन् ।
स्वास्थ्य मन्त्रालयको विहीबारसम्मको तथ्यांकअनुसार ८६ जना आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा ४ जना र काठमाडौं उपत्यकाबाहिर ८२ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।