News

क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण, कोरोना निको हुनेको संख्या १२ पुग्यो

क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण, कोरोना निको हुनेको संख्या १२ पुग्यो

काठमाडौं । क्वारेन्टाइनमा रहेका केही नेपालीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।

यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । त्यसैले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

औलो लामखुट्टाको टोकाइबाट हुन्छ । विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ । र, गर्मीयाममा यसको प्रकोप देखिने गरेको छ । मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ ।

‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’बाट नौ हजार ६६६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

यस्तै, हाल प्रदेशहरुमा २५ हजार ४४६ जनाको आरडीटी परीक्षण गरिएको भन्दै डा. देवकोटाले प्रदेश नम्बर–५ मा सबैभन्दा बढी सात हजार ९५६ जना ‘क्वारेन्टाइन’मा रहेको र सबैभन्दा कम वाग्मती प्रदेशमा रहेको जानकारी दिए ।

यस्तै, भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको संख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको उनले जानकारी दिए ।

विशेष