बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि, यसरी भयो खुलासा
काठमाडौं । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘हामीले थाहा पाउनासाथ पीसीआर टेष्टका लागि पठायौं तर कसैमा पनि पोजेटिभ रिजल्ट आएको छैन ।’ उनीहरु कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको बताइएको छ ।