सकियाे ओली-नेपाल बैठक, सचिवालय बैठक बोलाउने सहमति
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद टुंग्याउनका लागि सचिवालय बैठक बोलाउने सहमति भएको छ । सोमबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा दुई समूहका नेताबीच भएको छलफलमा मंगलबार पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
पछिल्लो विवादको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाउन माग गरिएपनि सोमबार नेपाल निवासमा भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति जुटेको हो । स्थायी कमिटी बैठक बोलाउने विषयमा सचिवालय बैठकले नै निर्णय गर्ने गरी सहमति भएको माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भएको थियो । ओली र नेपालबीचको छलफलपछि नेपालको कोटेश्वरस्थित निवासमा छलफल शुरु भएको थियो ।
नेपाल निवासमा भएको छलफलमा ओली समूहबाट उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपाल आफैं, स्थायी कमिटी सदस्य भीम रावल, रघुजी पन्त लगायत सहभागी थिए । अघिल्लो हप्ता मन्त्रिपरिषद बैठकले २ वटा विवादित अध्यादेश ल्याएपछि नेकपामा आन्तरिक विवाद चर्किदै गएको छ ।