दिल्लीको धार्मिक सभामा सहभागी भएर आएका एक जनामा कोरोना पुष्टि, को हुन् उनी ?
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ । संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो ।
१ देखि १५ मार्चसम्म नयाँदिल्लीस्थित निजामुद्दीनमा तबलीगी जमातको धार्मिक सभा भएको थियो । धार्मिक सभामा करिब ८ हजार मानिस सहभागी भएका थिए । वीरगञ्जका संक्रमित ६ मार्चमा दिल्ली गएर धार्मिक सभामा सहभागी भई ११ मार्च अर्थात २८ फागुनमा नेपाल फर्केका थिए । त्यसको डेढ महिनापछि कोरोना संक्रमण पुष्टि भएको छ ।
एकसाता अघिदेखि उनी वीरगञ्जको सिदार्थ मावि क्वारेन्टाइनमा थिए । आइतबार डिस्चार्ज भएका तीन भारतीय संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनी फेला परेका थिए । कोभिड–१९ संक्रमणको पुष्टि भएपछि आइतबार नै उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने परिवारका चार सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको छ ।
ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङको क्रममा मार्चमा उनी दिल्लीको धार्मिक सभामा सहभागी भएको खुलेको वीरगञ्जस्थित नेपाली सेनाको चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिए । ‘कोभिड–१९ संक्रमणको पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ शुरु गरेका छौं । उनीसँगै धार्मिक सभामा सहभागी अर्का एक जमाति पनि भेटिएका छन् ।’
उनीसँगै दिल्लीको धार्मिक सभामा सहभागी अर्का एक व्यक्ति र लकडाउनमा वीरगञ्ज पुगेर आएका घण्टाघरका एक व्यापारीलाई सिदार्थ मावि क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा १४ दिन पुरा गरी पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि ३७ जनालाई विदाई गरिएको छ । एक नेपालीसहित २८ जना भारतीय जमातीको जिम्मा नेपाली मुस्लिम समुदायले लिएका छन् ।