लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृहको परिपत्र
काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।
पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरु भन्दै ७ वटा गाडीमा १६० जनालाई काठमाडौं उपत्यकामा पठाएको छ ।
साथै सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।
‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘लकडाउन खुकुलो भएको गुनासो आएपछि आज फेरि परिपत्र गरेर त्यसलाई सम्झाएका छौं ।’