गृहको परिपत्रलगत्तै काठमाडौं आउन लागेका यात्रुलाई नागढुंगाबाटै फर्काइयो
काठमाडौं । बिभिन्न जिल्लाबाट काठमाडौं आउन लागेका यात्रुहरुलाई नागढुंगा नाकाबाट फर्काइएको छ । गृहमन्त्रालयले परिपत्र गरी लकडाउनलाई कडाइ गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएको हो, त्यहीँ फर्काइएको छ ।
यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुंगा पुगेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जहाँबाट आएका थिए, उतै फर्काउने काम भइरहेको बताए ।
सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा पठाएका यात्रुहरुमध्ये केहीलाई जान दिएर केहीलाई नाकामा रोकिएको थियो । सवारी पास भएकाहरुले आफन्तलाई नागढुंगा पुगेरै घरसम्म ल्याएका छन् । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।