किन भए केपी र बाबुराम आमनेसामने !
महादेबले कठोर तपस्या गरेबावत तपस्वीलाई बरदान दिन्छन् । तपस्वीले बरदान माग्छन्–मैले जसको शीरमा हात राख्छु उसको भस्म होस । महादेबले तथास्तु गरे । तपस्वीलाई बर सत्य हो कि होइन भन्ने जाच्न मन लाग्यो । र, महादेबकै शीरमाथि हात राख्न खोज्यो । प¥यो फर्साद । महादेबको याचना सुनेर बिष्णुले सहयोग गरे । महादेब खेद्दै हिडेका तपस्वीलाई बिष्णुले अलमलाइदिए । मोहीनी नामकी रुपवती युवतीका रुपमा विष्णु तपस्वी असुरको नजरमा देखिए । महादेबलाई खेद्न छाडेर ती असुर मोहिनीसँग मोजमस्तीमा लागे । मोहीनीसँग नाँचगान चल्यो । मोहिनीले नाच्दानाच्दै आफ्नो हात शीरमा राख्छिन् । ती असुरले पनि आफ्नो हात आफ्नो शीरमा राख्छन् । असुर मोहिनीसँगको सामिप्यताका कारण के बरदान पाएको थिएँ भन्ने सम्म भुल्दछन् । जे छोयो त्यही भष्म पार्ने बरदानवाला हात उनकै लागि अभिशाप बन्यो ।
भट्टराईले ओलीको तुलना सोही मिथकका तपस्वी असुर भस्मासुरसँग गरिरहेका छन् । जनताको बरदान ओलीले सदुपयोग गर्छन वा दुरुपयोग, ओली भस्मासुर हुन होइनन्, त्यो समयले बताउला । तर, भस्मासुर उपमाले ओलीलाई पछ्याइरहने छ । कहिलेकाहीँ व्यक्तिलाई दिइएका उपमा घटना सकिएपछि पनि नामेट हुँदैनन् । ५० को दशकमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नै पार्टीका साँसद कमल थापालाई मुसा उपमा दिएका थिए । आजसम्म सो उपमाले थापालाई पछ्याइरहेको छ ।
एउटा रक्सीमा अर्को रक्सी मिसाउदा बन्ने ठिमाह रक्सीलाई ककटेल भनिन्छ । जानकारहरुका अनुसार यस्तो ठिमाह रक्सी बढी लाग्दछ, स्वादपनि अर्कै बन्दछ । ओलीसँग तीस बर्षभन्दा बढी सँगत गरेका राधाकृष्ण मैनालीका शब्द सापट लिएर भन्ने हो भने ओली कुनैबेला ठर्रावाला र गृहमन्त्री भएपछि ब्राण्डवाला जड्हाय हुन् । उनलाई ककटेलबारे राम्रै जानकारी हुनुपर्छ ।
मद्यपान नगर्ने भट्टराइले ओलीका लागि अर्को उपमा थपेका छन्–ककटेल । अल्पज्ञान र अंहकारको मिश्रणबाट बनेको ककटेल !
ओलीबारे भट्टराई अहिले खरो सुनिएपनि उनीहरुका बीच न्यानो सम्बन्ध सायदै कहिलै छ । ओलीले भट्टराईको पीएचडी र बिद्धताप्रति धेरै पटक सार्वजनिकरुपमै टिठ जनाइसकेका छन् । भट्टराईको राजनीतिक ब्राण्डभन्दा अध्ययनको ब्राण्डले धेरैलाई आर्कषित गर्छ । अधिकाँश नेताको पढाइ कमसल भएका कारण भट्टराईको पढाइ चर्चामा रहन्छ । र, उनको पढाइ अन्य नेताको ठोकाइमा पर्दछ ।
त्यसो भए भट्टराई र ओलीको जुहारी यत्ति हो त ? होइन । यसका लागि केही पाटा केलाउन पर्ने हुन्छ । समाजबादी पार्टी सरकार हेरफेरका लागि तत्काल निर्णायक पनि होइन । भट्टराई राजनीतिकरुपमा कमजोर भएपनि शक्तिशाली ओलीले उनको दल फुटाउन ठूलै जुवा किन खेले ? यो अहिलेको गम्भीर प्रश्न हो ।
भट्टराईप्रति ओली–प्रचण्ड पहिले देखि कठोर हो । नजिरका रुपमा भूकम्पपछिको घटनालाई लिन सकिन्छ । भट्टराईले पूर्ननिर्माण प्राधिकरणको प्राधिकारसहितको प्रमुख हुन चाहेका थिए । सायद, सो प्राधिकरणको प्रमुख भएको भए भट्टराई यति छिट्टै नयाँशक्ति भनेर हिड्दैनथे । पूर्ननिर्माणको कामपनि यस्तो हरिबिजोगपूर्ण हुन थिएन । तर भट्टराई बनाइएनन् । भट्टराईले पूर्ननिर्माणको काम सकेपछि उनका बारे नयाँ किसिमको लहर आउने र आफूहरुलाई अफ्ठारो पर्ने बुझाइ प्रचण्ड–ओलीको थियो । प्राधिकरणको प्रमुख कस्ता कस्ता मान्छे बने तर प्रधानमन्त्री भइसकेका भट्टराईले पाएनन् । भनेपछि भट्टराईप्रति कति कठोर ? यसै बुझ्न सकिने कुरा भयो ।
माओवादीको उदय एमालेको बिरोध गरेर भयो । ओलीको उदय माओवादीको बिरोध गरेर भयो । माओवादीको मुख्य रणनीति एमालेको नीतिमाथि आक्रमण गर्नु थियो । समयक्रममा प्रचण्ड यसरी बदलिएकी एमालेको नीति कुन उनको नीति कुन भन्ने भेउ पाउन छाडियो । ओलीले बुझे प्रचण्ड त नरम रहेछन् । अरठ्ठो बाबुराम रहेछ । प्रत्यक्ष निर्वाचित कार्यकारी, जातीय पहिचानसहितको संघीयता, पूर्ण समानुपातिक सँसद, साँसद मन्त्री बन्न नपाउने व्यबश्था, भष्ट्रचारबिरुद्ध जनलोकपाललगायतका माग प्रचण्ड नेतृत्वको माओवादीका हुन् । गलेर, सुध्रेर वा मौका आए गरम्ला भनेर प्रचण्ड मुख्यतः एमालेको नीतिमा समाहित भए । तर भट्टराई उनै नीतिमा छन् । भलै उनले माओवादी पार्टी छाडे, कम्युनिष्ट हुँ भन्न छोडे तर युद्धकालदेखिका नीतिमा नीतिगतरुपमा अडिक देखिन्छन् ।
संसदमा एक्लो साँसदको रुपमा प्रबेश गरेका बाबुराम भट्टराई सामजबादी, राजपासँगको एकीकरण हुँदै तेस्रो शक्ति बनेका छन् । नेतृत्वको एकीन भइनसकेपनि जनता समाजबादी पार्टीको मुख्य अनुहार भट्टराई नै हुन् । सकिए भनिएका भट्टराईको राजनीतिक उचाइ थोरै भएपनि बढेको छ । लोकप्रियताको चुलीमा पुगेर थचारिएका भट्टराईको लोकप्रियता उकालो लाग्न थालेको छ । तीखा स्टाटसका कारण पछिल्लो समय चर्चामा रहेका पूर्वसचिव भीम उपाध्यायले बाबुरामको गिदीबाहेक समकालीन नेतृत्वमा अरुको गिदीले बिकास पहिल्याउन नसक्ने सार्वजनिकरुपमै लेखे ।
राजनीति बिराएपनि बिकासका लागि बाबुरामलाई कसैले भेट्न सक्दैन भन्ने जनजिब्रोमा छ । परिश्थिति तलमाथि हुने बित्तिकै भट्टराई राजनीतिको केन्द्रमा देखिने सम्भाबना छ ।
समाजबादी फुटाउने, सांसद ल्याउने र संसदीय दलमा आफू बहुमतमा रहने ओली रणनीति थियो । ओलीको रणनीति नराम्रोसँग तुहिएको छ । बरु, ओली अल्पमतमा पर्ने, नेकपा विभाजित हुने र ओलीको आसन भट्टराईले लिने चर्चा छिटपुटरुपमा हुन थालेको छ ।
यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)