क्वारेन्टाइन अवधि पूरा गर्दा पनि किन राेकिए २ हजारभन्दा बढी नेपाली भारतमै ?
काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २ हजारभन्दा बढी नेपालीले क्वारेन्टाइन अवधि पूरा गरेर पनि नेपाल प्रवेश गर्न पाएका छैनन् । सामान्यतयाः सरकारले १४ दिनसम्म क्वारेन्टाइन राख्दै आए पनि नेपालमा लकडाउन जारी रहेकाले सीमावर्ती क्षेत्रमा एक महिनादेखि नेपालीहरु अलपत्र परेका हुन् ।
सदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला भारतसँग सीमा जोडिएका छन् । ती जिल्लाका सीमा क्षेत्रमा २ हजार ३८ नेपालीहरु अहिले भारतले सीमावर्ती क्षेत्रमा बनाएको क्वारेन्टाइनमा बस्न बाध्य छन् ।
भारतको धार्चुलामा मात्रै विभिन्न चार स्थानमा आठ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको दार्चुलका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले जानकारी दिए ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । सीमामा रहेका नेपालीहरुलाई प्रवेश गर्न दिने नदिनेबारे केन्द्र सरकारसँग समन्वय गरि आवश्यक निर्णय लिइने उनले बताएका छन् ।