जापानमा आपतकाल, १० खर्ब डलरको आर्थिक प्याकेज
जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।
“जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु । म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु,” आबेले भने ।
“विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा” नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए ।
यो घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् ।
आपतकाल घोषणाबाट जापानको आर्थिक अवस्थामा पर्ने प्रभावका बारेमा चिन्ता बढेको छ, र प्रधानमन्त्री आबेले १० खर्ब डलरको एक प्रोत्साहन प्याकेज घोषणा गरेका छन् ।
यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो ।