नेपालमा आज एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ? हेर्नुहोस बिस्तृतमा
काठमाडौं । नेपालमा आज साेमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एकैदिन संक्रितकाे संख्या २४ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार आजै विहानमात्रै कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ र बुद्धभूमि नगरपालिका-७ का का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष छन् । सोमबार बिहानमात्रै संक्रमण पुष्टि भएका १० जना पनि बुद्धभूमि र लुम्बिनी सांस्कृतिककै हुन् ।
यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका- ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् भने बर्दिया राजापुर- निवासी ११ वर्षीया महिला छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए । शनिबार मात्रै सरकारले लकडाउन केहि खुकुलो पारेको थियो ।
हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ७, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।