अमेरिकन आइडलको टप ७ मा पर्न सफल भए नेपाली युवा दिवेश
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।
भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् ।
आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ । अमेरिकन आइडलमा भोट दिन तीन तरिका छन् । एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर । तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो । नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।
काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसहित अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्छन् । काठमाडौंको रविभवनमा जन्मेका दिवेश सानैदेखि संगीतका पारखी थिए । स्कुल–कलेजका कार्यक्रमहरूमा गाउने गर्थे । यद्यपि, सांगीतिक क्षेत्रमा नै समर्पित भएर लागेको भने अमेरिका गएपछि मात्रै हो ।