नेपालमा पहिलोपटक पत्रकार र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पत्रकारपछि तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।
पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।
संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।
स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।
उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । यसअघि (मंगलबार) आज एकै दिन उता पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये केही पत्रकार समेत रहेका खुलेको छ ।
अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म २ जना पत्रकारहरु छन् । आफूले तीन दिनअघि स्वाब परीक्षणका लागि दिएको र आज आएको नतिजाअनुसार पोजेटिभ देखिएको संक्रमित एक पत्रकारले बताए।
ती पत्रकारका अनुसार पर्साका अर्का पत्रकारमा पनि कुनै लक्षण देखिएको छैन। ‘ऊ पनि मजस्तै काम गरिरहेको छ। कुनै लक्षण थिएन,’ उनले भने, ‘हामीलाई कसरी कोरोना देखियो छक्क छु।’ उनका अनुसार वीरगन्जका अरू पत्रकारहरू पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।