News

'विश्व एक परिवार हो' भन्ने सन्देशसहित आईसिसिआरले ल्यायो “युनाइटेड वी फाईट” गीत

'विश्व एक परिवार हो' भन्ने सन्देशसहित आईसिसिआरले ल्यायो “युनाइटेड वी फाईट” गीत

काठमाडाैं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसिसिआर) ले भारतभरका रचनाकार, सङ्गीतकार, गीतकार एवम् गायक सबैलाई एकै ठाउँमा ल्याई, सबैले आ–आफ्नो घरबाट रेकर्डिङ्ग गरी “युनाइटेड वी फाईट” नामक गीत तयार गरेको छ ।

जो अल्भारेसद्वारा रचना तथा कम्पोज गरिएको, टुबी, पण्डित रवि चरी, पण्डित राकेश चौरसिया र उस्ताद फैजल कुरेसीद्वारा सङ्गीतबद्घ तथा उषा उथुप, सलीम मर्चेन्ट, शेफाली अल्भारेस, रासिद, बेनीदयाल, सोनम कालरा, चन्दनबाला कल्याण, जो अल्भारेस, सलोमे र समीराद्वारा स्वरबद्घ सो गीत भारतीय शास्त्रीय सङ्गीतमा अङ्ग्रेजी शब्द भरेर तयार पारिएको हो ।

यस गीतले वसुधैव कुटुम्बकम् अर्थात “विश्व एक परिवार हो” भन्ने भावनालाई जागृत गराउने प्रयास गरेको छ । कोभिड–१९ विरुद्घको हाम्रो सामूहिक लडाइँमा यस गीतले आशा, खुशी, सहनशीलता, रोगविरुद्घ लड्ने भावना जस्ता सन्देश बोकेको छ । 

यो रचना कोभिड १९ विरुद्ध ज्यानको पर्वाह नगरी अरुको जीवन बचाउन प्रयासरत सबै साहसी व्यक्तिहरुप्रति प्रशंसा तथा गहिरो सम्मानसहित समर्पित छ । कोरोना संक्रमणको कठिन परिस्थितिका बावजुद मुलुकको सांस्कृतिक विरासत धान्ने, सांस्कृतिक सम्पदा जोगाउने र जीवन्त पार्न अथक प्रयास गर्ने तमाम स्रष्टा तथा कलाकारहरुमा समेत समर्पित छ । साथै, यस सिर्जनाले संक्रमणको महामारीजस्तो कठिन घडीबीच वरिपरिका परिचित, अपरिचत व्यक्ति तथा समाजको सहयोगमा तल्लिन रहने हरेक व्यक्तिप्रति सम्मान व्यक्त गरेको छ ।

विश्वका सबै साथै हिड्याैं भने मात्रै कोरोनाभाइरस विरुद्धको लडाई जित्न सकिन्छ, मानवता र मानव जातिमाथि आइपर्ने चुनौतीको मिलेर सामना गर्नुपर्छ भन्ने सन्देश पनि यस रचनाले दिएकाे आईसिसिआरले जनाएकाे छ । यो गीत भारतको विदेश मन्त्रालयद्धारा सारा विश्वलाई समर्पण गरेको छ । आईसीसीआर भारतीय विदेश मन्त्रालय अन्र्तगतको एक स्वायत्त संस्था हो । यसले अन्तर्राष्ट्रिय समझदारी कायम गर्ने, भारत र अन्य मुलुकबीचको सांस्कृतिक सम्बन्ध विकास गर्ने एवं अन्य मुलुकमा भारतको मृदु शक्ति फैलाउने काम गर्ने गर्दछ ।

विशेष