काठमाडौंमा फेरी ७ वर्षीय बालकसहित तीन जनामा संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४९ पुगेको छ । बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनाका कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा संक्रमण देखिएको हो । डा. अधिकारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् भने सबैको अवस्था सामान्य रहेको छ ।
यस्तै उता जिल्लामा एक जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ को सरस्वती मावि नानरा क्वारेन्टाइनमा बसेका ५० वर्षका पुरुषको बिहीबार चेक गर्दा आरडीटी रिपोर्ट पोजिटीभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए ।
उनका उनुसार आरडीटी पोजिटिभ देखिएका व्यक्त्ति भारतको पिथौरागढ जिल्लामा मजदुरी गर्दै आएका थिए । पोजिटिभ देखिएका उनी वैशाख १८ गते दार्चुलाको धार्चुलानाकाबाट प्रवेश गरेकाहरुमध्येका हुन् । सोही क्वारेन्टाइनमा ७४ जना बसेका छन् । ६८ जनाको बिहीबार जाँच गरेकोमा ६७ को नेगेटिभ आएको र उनको पोजिटिभ आएको जोशीले बताए । उक्त पालिकाभरि ८० जना क्वारेन्टाइनमा बसेका छन् ।
पालिकाको एम्बुलेन्समार्फत उनलाई जिल्ला अस्पताल ल्याउने तयारी गरिएको स्वास्थ्य कार्यलायका प्रमुख योगेश भट्टले बताए । शुक्रबार बिहानसम्म उनलाई अस्पताल पुऱ्याएर आइसोलेसनमा राखिने र त्यही एम्बुलेन्समा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाउने उनको भनाइ थियो । जिल्लाभर अहिले १२ सय ७८ जना क्वारेन्टाइनमा बसेका छन् ।