लिम्पियाधुरासहितको नक्सा जारी गर्ने प्रधानमन्त्री ओलीकाे प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएका छन् । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्न सरकारलाई सुझाव दिएपछि उनले बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेकपा सचिवालयको आजको बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ? भन्दै नेताहरुले आपत्ति जनाएका थिए । त्यसपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् । पहिला नक्सा जारी गर्ने त्यसपछि वार्ता र कुराकानी हुँदै गर्छ भन्ने निष्कर्षमा प्रधानमन्त्रीसहितका नेकपा नेताहरु पुगेका छन् ।
बैठकमा सरकारले आज प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए ।