रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या २९१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति निकाल्दै थप १० जनामा संक्रमण पुष्टि गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका १० जना पुरूषमा संक्रमण देखिएको छ ।
उनीहरू रौतहट राजपुर नगरपालिका फरदवा – ९ का ७ जना र इशनाथ नगरपालिका ३ र ५ का ३ जना हुन् । उनीहरु सबै अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उता कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।
सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए ।अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको प्रजिअ गुरागार्इँले बताए ।
सङ्क्रमण पुष्टि भएका युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । साथै युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको प्रजिअ गुरागाईँले जानकारी दिए । गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।