News

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ । कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।

२२ वर्षीय दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिँदै आएको छ । काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्छन् ।

दिवेशको संगीत यात्रा
काठमाडौंको रविभवनमा जन्मेका दिवेश सानैदेखि संगीतका पारखी थिए । स्कुल–कलेजका कार्यक्रमहरूमा गाउने गर्थे । यद्यपि, सांगीतिक क्षेत्रमा नै समर्पित भएर लागेको भने अमेरिका गएपछि मात्रै हो ।

दिवेशका बुवाआमा सन् २००८ मा अमेरिका गएका थिए, जतिबेला दिवेश स्कुल पढ्दै थिए । प्लस टुको अध्ययन सकेपछि उनी पनि सन् २०१४ मा अमेरिका गए । दिवेशका चार दिदीबहिनी छन् । अडिसनमा दिवेशले दिदी रुपालाई साथ लिएर गएका थिए । संगीतमा लाग्न उनलाई परिवारको पूरा सपोर्ट छ ।

अमेरिकाको कान्ससस्थित विचिटामा परिवारसँग बस्दै आएका दिवेश शहरमा रहेका कफी हाउसहरुमा गाउने गर्थे । उनले न्यूयोर्क, सान फ्रान्सिस्को, लस एन्जेलसका सडक–गल्लीहरुमा पनि गिटार बजाउँदै गाएका छन् ।

सन् २०१८ मा दिवेशले नेपाली गीतहरुको एल्बम निकाले । उनको ‘ग्रहण’ एल्बममा आठ वटा गीत छन् । सबै गीतहरु उनी आफैंले लेखेका हुन् । यसमा रहेको ‘न्यानो घर’ बोलको गीत दिवेशले यूट्यूवमा समेत राखेका छन् जसको भ्यूज ४६ लाखभन्दा बढी छ । उक्त एल्बम सार्वजनिक गर्नेबेला उनी नेपाल आएका थिए ।

दिवेशले सन् २०१९ मा केही नयाँ गीतहरु रेकर्ड गरे । जसमध्ये ‘म’, ‘खोज’, र ‘कर्णाली’ बोलका गीत गत डिसेम्बरमा उनले आफ्नै नामको च्यानलबाट यूट्यूवमा अपलोड गरेका छन् । यी गीतहरुको भ्यूज सामान्य छ । दिवेशको च्यानलमा गत फेब्रुअरीमा ७० हजार ‘सब्स–क्राइबर’ थिए भने अहिले सो संख्या अढाई लाख पुगेको छ ।

विशेष