अमेरिकन आइडलको उपविजेता बने दिवेश, कसले जित्यो उपाधि ?
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।
काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।
उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो । काठमाडौंको रविभवनमा जन्मेका दिवेश सानैदेखि संगीतका पारखी थिए । स्कुल–कलेजका कार्यक्रमहरूमा गाउने गर्थे । यद्यपि, सांगीतिक क्षेत्रमा नै समर्पित भएर लागेको भने अमेरिका गएपछि मात्रै हो ।
दिवेशका बुवाआमा सन् २००८ मा अमेरिका गएका थिए, जतिबेला दिवेश स्कुल पढ्दै थिए । प्लस टुको अध्ययन सकेपछि उनी पनि सन् २०१४ मा अमेरिका गए । दिवेशका चार दिदीबहिनी छन् । अडिसनमा दिवेशले दिदी रुपालाई साथ लिएर गएका थिए । संगीतमा लाग्न उनलाई परिवारको पूरा सपोर्ट छ ।
अमेरिकाको कान्ससस्थित विचिटामा परिवारसँग बस्दै आएका दिवेश शहरमा रहेका कफी हाउसहरुमा गाउने गर्थे । उनले न्यूयोर्क, सान फ्रान्सिस्को, लस एन्जेलसका सडक–गल्लीहरुमा पनि गिटार बजाउँदै गाएका छन् ।
सन् २०१८ मा दिवेशले नेपाली गीतहरुको एल्बम निकाले । उनको ‘ग्रहण’ एल्बममा आठ वटा गीत छन् । सबै गीतहरु उनी आफैंले लेखेका हुन् । यसमा रहेको ‘न्यानो घर’ बोलको गीत दिवेशले यूट्यूवमा समेत राखेका छन् जसको भ्यूज ४६ लाखभन्दा बढी छ । उक्त एल्बम सार्वजनिक गर्नेबेला उनी नेपाल आएका थिए ।
दिवेशले सन् २०१९ मा केही नयाँ गीतहरु रेकर्ड गरे । जसमध्ये ‘म’, ‘खोज’, र ‘कर्णाली’ बोलका गीत गत डिसेम्बरमा उनले आफ्नै नामको च्यानलबाट यूट्यूवमा अपलोड गरेका छन् । यी गीतहरुको भ्यूज सामान्य छ । दिवेशको च्यानलमा गत फेब्रुअरीमा ७० हजार ‘सब्स–क्राइबर’ थिए भने अहिले सो संख्या अढाई लाख पुगेको छ ।