News

यस्तो आयो कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट

यस्तो आयो कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट

काभ्रे।  कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।

सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतककी बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।

नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए ।

श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रबिसे–९ निवासी ती सुत्केरीको मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएका आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजिटिभ आएको थियो । त्यसपछि बिहीबारदेखि अस्पतालको गार्ड रुममा अलग्गै राखिएका शिशुसहित परिवारका सदस्यलाई धुलिखेलस्थित क्वारेन्टाइनमा राख्न लागिएकोमा प्रशासनले आइसोलेसनमा राख्न निर्देशन दिएको थियो ।

विशेष