नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५१६ पुग्यो
काठमाडौं । नेपालमा शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की महिला र भक्तपुर–९ की महिलामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा गरएिको परीक्षणमा सप्तरीको बलान– बिहुल गाविसका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८, ४५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको सम्पर्कमा रहेका २५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाएको थियो ।
स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका ६ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।