अछाममा पनि कोरोना संक्रमण पुष्टि
काठमाडौं । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका अछामको मेल्लेख गाउँपालिका ३२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु बर्दियाका गुलरिया–१० का २२ र २४ वर्षीया पुरुष र गुलरिया –२ का १८ वर्षका पुरुष रहेका छन् । यस्तै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ आएको छ ।
उनीहरु पर्साको जिराभवानी गाउँपालिकका–४ का वर्षीय पुरुष १८ वर्षीय पुरुष र काठमाडौं महानगरपालिका–१५ घर भएका बारा कलैयामा कार्यरत एक जना २८ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म १ सय १२ जनाको डिस्चार्ज भएको पनि जानकारी दिए ।
उनले पछिल्लो पटक नारायणी अस्पतालबाट १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र वर्दियाका एक-एक जना पनि डिस्चार्ज भएका छन् । यस्तै टेकु अस्पतालमा रहेका सर्लाहीका ३४ वर्षीया पुरुष पनि डिस्चार्ज भएका छन् ।
चौथौ व्यक्तिको मृत्यु पुष्टि
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले नेपालमा कोरोना संक्रमित चौथो व्यक्तिको मृत्यु भएको पनि पुष्टि गरेका छन् । प्रवक्ता डा देवकोटाले स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत वीरगञ्जको नेसनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
प्रवक्ता डा देवकोटाका अनुसार नेसनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग भएका बिरामी थिए । उनलाई ट्युवर क्लोसिस भएको पनि डा देवकोटाले बताए ।
श्वासप्रश्वासमा समस्या भएर जेठ २ गते अस्पताल भर्ना भएका उनको स्वाब कलेक्सन भएको थियो । उनको नारायाणी अस्पतालमा नमूना शंकास्पद भएपछि उनको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको जेठ ४ गते नै मृत्यु भएको थियो ।
डा देवकोटाले उनको सम्पर्कमा आएका व्यक्तिहरुको जेठ ५ गते नै कोरोना परीक्षण शुरु गरिएको बताए । डा देवकोटाका अनुसार मृतकको नमूना पोजेटिभ आएसँगै कूल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।