८ दिनअघि मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि
काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ ४ गते नै मृत्यु भएका ती पुरूषकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरे ।
‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ।’ मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आए पछि अहिले नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ ।
उनले नारायणीको ल्याब र काठमाडौंमा दुई तिर परीक्षण गर्नुपरेका कारण उनको रिपोर्ट आउन ढिलाइ भएको उनले बताए । क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।
तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।