कोरोना भाइरसको संक्रमणबाट दैलेखमा पहिलाेपटक १ जनकाे मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।
दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिबार विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय विरेन्द्रनगर सुर्खेतले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।
कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ । १० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसअघि कोरोनाका कारण नेपालमा ६ जनाले ज्यान गुमाइसकेका छन् ।
सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ एक जना पुरुष गरी ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।