News

बाहिरियाे रुकुम पश्चिम घटनाको स्थलगत प्रतिवेदन, यसकारण गयो नवराजसहित ५ जनाको ज्यान

बाहिरियाे रुकुम पश्चिम घटनाको स्थलगत प्रतिवेदन, यसकारण गयो नवराजसहित ५ जनाको ज्यान

काठमाडाैं । रुकुम पश्चिम घटनाको स्थलगत अध्ययन प्रतिवेदन बाहिरिएको छ । केही दिनपछि १० जना दलित अगुवा एवं अधिकारकर्मीहरूको टोली घटनास्थल पुगेको थियो। उनीहरूले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार केटीपक्षको समूहले सबैतिरबाट घेरा हालेर नवराज बिक र उनका साथीहरुमाथि सांघातिक आक्रमण भएको हो । आक्रमणमा संलग्नहरूले नवराजको समूहलाई घरेलु हतियारले प्रहार गरेको र शव नदीमा फालेको पुष्टि हुने घटनास्थल पुगेर फर्किएका दलित अधिकारकर्मी धर्मलाल रोकायाले बताए । ‘घटनाको स्थलगत अध्ययन गर्ने हो भने भेरीमा हाम्फाल्ने अवस्थै हुँदैन, हाम्फालेकै भए पनि बुट्यानका कारण मानिस बीचैमा अड्किन्छ,’ प्रतिवेदनबारे रोकायाले भने, ‘भाग्दा हाम्फालेर मरे भन्ने कुरा कुनै हालतमा पनि पुष्टि हुँदैन ।’

रोकायालगायत १० जना अधिकारकर्मीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पनि यस्तै दाबी छ । प्रतिवेदनमा छ, ‘घरेलु हतियार हँसिया, खुकुरी, लाठी लगायतका ढुंगाले एक्कासि आक्रमण गर्दै लखेट्दै लखेट्दै भेरी नदीको बगरमा दुवैतिरबाट घेरा हालेर नवराज विश्वकर्मा र उनका अरू पाँच जना साथीहरूको हत्या गरी भेरीमा शव फालिदिए ।’

छानबिन प्रतिवेदनलाई पुष्टि गर्ने केही स्थलगत तथ्यहरू पनि छन् । घटनास्थल आसपास भेरी नदीमा खोंच छैन । जंघार परेको समथरमा करिब ६/७ फिट गहिरो छ । हामफाल्ने खालको ढिस्को वा पहरो छैन । किनारमा गएर पौडी खेलेर तर्ने खालको फराकिलो बहाव छ । घटनास्थलदेखि माथि एक किलोमिटरको दूरीमा एउटा पुल छ भने २/३ किलोमिटर तल अर्को पुल छ । मृतक र बेपत्ता भएका साथीहरू भेरी नदीमा पौडी खेल्दै आएकाले उनीहरू बगेर मर्ने अवस्था नभएको उनीहरूका साथी बताउँछन् ।

फोन सम्पर्क भएको अनुमानित समयको आकलन गर्दा घटनाको एक/दुई घण्टाभित्रै साँझ साढे ६ बजे जाजरकोटतिर भेरी किनारमा उनको शव भेटियो । त्यो दिन हराएका पाँचमध्ये चारको शव १५ गतेसम्म भेरी किनारामै भेटिएको छ भने एक जनाको अवस्था अज्ञात छ । प्रारम्भिक बयानमै नवराजको साथमा गएका ती साथीहरूले केटीको घरबाट केही वरपट्टि आउनेबित्तिकै ढुंगामुढा भएको बताएका छन् । घटनास्थल पुगेको प्रहरीले काठमाडौंबाट गएको टोलीलाई बताएअनुसार नवराजका साथै अरू घाइतेहरू निःशस्त्र थिए । यतिसम्म कि, उनीहरूको साथमा पैसा थिएन । प्रहरी निरीक्षक धर्मसिंह विष्टले ‘जातीय भेदभाव र जातीय छुवाछूतकै कारण कुटेर हत्या भएको’ भन्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन् ।

दुवैको प्रेमबारे मल्ल परिवारभित्र र नजिकका नातेदारहरूमाझ पनि कुरा चलिरहेको विभिन्न छानबिनले पुष्टि गर्छ । नवराजका बाबुलाई ती युवतीका ठूलाबाबु इन्द्रबहादुर मल्लले मल्लको सम्धी बन्ने इच्छा छ भनी सोधेका थिए । जाजरकोट खलंगामा व्यापार गरी बस्ने उनैले नवराजकी दिदीलाई घटना भएको दिन ‘नवराज घर पुग्यो कि पुगेन ?’ भनेर सोधका थिए । दिदीले किन सोधेको भनी जिज्ञासा राखेपछि जवाफमा इन्द्रबहादुरले ‘नवराजले केटाहरूको हूल लिएर कता हिँडेको थाहा पाएको’ भन्ने जवाफ दिएको पीडित परिवारको भनाइ छ । दिदीले साढे ५ बजेतिर नवराजसँग फोन सम्पर्क गरेकी थिइन्, त्यो नै उनीहरूबीचको अन्तिम गफ बन्यो ।

घटनाको एक सातापछि कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त, जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा र रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहितको टोली घटनाको एक सातापछि शनिबार घटनास्थल पुगेको छ । टोलीले घटनाका मृतकका परिवारका साथै स्थानीयवासीसँग भेटघाट गरेको छ । गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले पनि शनिबारै घटनास्थल पुगी स्थलगत अध्ययन गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

विशेष