चीनको इशारामा नेकपा ! चिनियाँ राजदूतको त्यो सन्देशले आश्चर्यजनक उथलपुथल
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तरविरोध चर्कंदै गर्दा चिनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भयो, २ वर्षअघि तत्कालीन एमाले र माओवादी एकता घोषणा हुनुअघि पनि उत्तरी छिमेकीको भूमिका यस्तै थियो ।
नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘मुख्यतः जनताले स्थिरताका पक्षमा दुईतिहाइ दिएकाले शीर्ष नेताहरुमाथि दबाब थियो तर छिमेकी मित्रहरुको भूमिकाले पनि समझदारी निर्माणमा सघाउ पुर्याएको छ ।’
नेकपामा आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली लगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता तीव्र पारेकी थिइन् । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी थिइन् ।
यान्छी सोमवार साँझ राष्ट्रपति भवन शीतलनिवास पनि पुगेकी थिइन् । त्यहाँबाट उनले राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ताको सहजीकरण गरेकी थिइन् । २ देशका राष्ट्रपतिबीच करीब ४५ मिनेट टेलिफोन संवाद सकिएपछि चिनियाँ राजदूत फर्केकी थिइन् । राष्ट्रपतिहरूबीच फोनवार्ता हुनुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग २ पटक टेलिफोन संवाद गरेका थिए ।
यहीबीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ सहितका अधिकारी र नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच बुधवार करीब ३ घण्टा लामो भिडियो संवाद भएको थियो । त्यसक्रममा ताओले कोरोना महामारीमाथि पश्चिमा मुलुकले चीनविरुद्ध राजनीतीकरण गरेको आरोप लगाउँदै चीनले ऐक्यबद्धता खोजेको बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
नेकपा एकीकरणपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध बढेको छ । एकतालगत्तै दुबै देशका पार्टीका नेताहरुको भ्रमण बाक्लिएको छ । अझ नेकपाले सी विचारधारामाथि प्रशिक्षण कार्यक्रमसमेत चलाएको थियो ।