सांसद यादवले दिएको अपहरणसम्बन्धी जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी जाहेरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको छ । सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधीवक्ता हरि रेग्मीका अनुसार जाहेरी दर्ता भइसकेकाे छ ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंका साथै सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन मानेको थिएन । यादवको टोलीले मानव अधिकार आयोगमा समेत उजुरी दर्ता गराइसकेको छ । डा यादवले पूर्वप्रहरी महानिरिक्षक सवेन्द्र खनालसहित सांसद किसान श्रेष्ठ र पूर्वमन्त्री महेश बस्नेतबिरुद्ध जाहेरी दिएका हुन् ।
प्रमुख रेग्मीले कानूनमा भएको व्यवस्था अनुसार, जाहेरी तत्काल प्रहरीमा पठाइदिने बताए । ‘त्यो निवेदन हामीले हेर्ने, के गर्ने, कसो गर्ने भन्ने कुरा भएन, कानून बमोजिम नै प्रहरीमा पठाइदिने हो’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरेपछि जस्तो प्रतिवेदन आँउछ, त्यतिबेलै अध्ययन गरेर थप कुरा भन्ने हो ।’
सोमबार नै यादवले आरोप लगाएको तीनजनाको टोलीले पनि मानव अधिकार आयोगमा निवेदन दिएका छन् । पूर्वप्रहरी महानिरिक्षक सवेन्द्र खनालसहित सांसद किसान श्रेष्ठ र पूर्वमन्त्री महेश बस्नेतको टोलीले निवेदन दर्ता गराएका छन् ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फसाउन लागेको भन्दै सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी दिएका छन् ।