मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने, यस्तो आयो ताजा अपडेट
काठमाडौँ । केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।
तत्काल यी मौसमी प्रणाली हट्ने सम्भावना नरहेको उनले बताइन् । नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।
प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।
विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै एक साता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस वर्ष काठमाडौँ उपत्यकामा अप्रिलमा औसतभन्दा बढी वर्षा भएको छ । अप्रिलमा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा ९२ मिलिमिटर वर्षा भएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यसको वर्षाको प्रकृति भिन्न छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि सरदर वर्षा हुने मौसमविद्को अनुमान छ ।
राति देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
बुधबार देशभर बिहानीपख आंशिक बदली र दिउँसोपश्चात् सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानका साथै पूर्वी र मध्य तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशभर आंशिक बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।