नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप, केछ अवस्था ?
नेपालगञ्ज । निषेधित क्षेत्र घोषित बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच मंगलबार झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ ।
बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए ।
प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । बजार बन्द गराउनेक्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए ।
स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन)का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।