News

मझुवागढीमा आवतजावत रोक्न स्थानीय युवा सीमानाकामा परिचालन

मझुवागढीमा आवतजावत रोक्न स्थानीय युवा सीमानाकामा परिचालन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा आफ्नो गाउँ प्रवेश गर्ने १४ वटा नाकामा खटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको समयमा पनि आवतजावत गर्ने क्रम नरोकिएपछि त्यसलाई रोक्न प्रत्येक नाकामा चार/चार जनाका दरले बिहान ६ देखि बेलुका ६ बजेसम्म दैनिक १२ घण्टा युवा खटिएका हुन् ।

स्थानीय बासिन्दालाई समेत एउटा टोलदेखि अर्को टोल आवजावत गर्न नदिने गरी रोक लगाउन लागिपरेका युवा साबिकको नौ वटै वडाका नाकामा परिचालित भएको वडाध्यक्ष रामचन्द्र राईले बताए । ‘हरेक घरका युवा पालैपालो एक/एक दिन नाकामा बस्ने गरी समिति बनाएरै खटिएका छन्’, उनले भने, ‘नाकामा खटिने युवालाई वडा कार्यालयबाट स्वयंसेवक परिचयपत्र र मास्क उपलब्ध गराइएको छ ।’

घरमा बिहान खाना खाएर नाकामा खटिने युवा आफैँले दिउँसोको लागि भुटेको मकै, सातु तथा अन्य खाजा लिएर जाने गरेका छन् । नाकामा खटिएका युवाको टोलीले गम्भीर किसिमका बिरामी तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनबाहेक पैदलयात्रुलाई समेत रोक लगाउने गरेका छन् ।

दिक्तेलबाट खार्मी प्रवेश गर्ने देउराली, पाथेकाबाट प्रवेश गर्ने देखुमेखोलाको पुल, जालपाबाट प्रवेश गर्ने लुम्जुखोला, रुपाकोटबाट प्रवेश गर्ने ढिकाडाँडा, केपिलासगढी गाउँपालिकाबाट प्रवेश गर्ने रुधालुङ र तुर्खा पुछारमा टोली खटिएको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिए ।

यस्तै, एउटा टोलदेखि अर्को टोल प्रवेशमा रोक लगाउन बाँझोबारी, झिँगुचोक, रुयल, निगाँले, गुरुङगाउँ, जागित्राडाँडा, बिखर्कुलगायतका ठाउँमा समेत युवाको टोली परिचालन भएको जनाइएको छ । मुख्य चोक तथा बाटोमा प्रवेश निषेध लेखिएको सूचना टाँसेर परिचालित भएका युवाले गाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना अभिवृद्धिको कामसमेत गरिरहेका छन् ।

प्रवेश निषेधको जानकारी नपाएर आउने व्यक्तिलाई बाटैबमा सम्झाइबुझाइ फर्काउने गरिएको नाकामा खटिएका बोहोरीबोटका युवक चिनकाजी राईले बताए । दिनभर नाकामा खटिने युवाले घाम र पानीबाट जोगिन आफ्नै खर्चमा पाल तथा चित्राको गोठ बनाएर बस्ने गरेका छन् । आफ्नो गाउँको सुरक्षार्थ खटिने युवालाई वडाको तर्फबाट सामान्य खाजाको व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ ।

छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि खोटाङमा पनि उच्च सतर्कता अपनाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

विशेष