पछिल्लो २४ घण्टामा भेटिएनन् नयाँ संक्रमित, ४ सय ४ जनाको पीसीआर परीक्षण
काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । हालसम्म ९९ जना जना संक्रमित रहेका छन् ।
डा देवकोटाका अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी ९९ जना संक्रमित रहेका छन् । देभरका विभिन्न अस्पतालको आइसोलेसनमा ७७ जना संक्रमितको उपचार भइरहेको छ भने २२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार बुधबार सम्मा कुल पीसीआर विधिबाट १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको थियो । यो तथ्यांकलाई हेर्दा पछिल्लो २४ घण्टामा देशभर ४ सय ४ वटा नमूना मात्र परीक्षण भएको छ ।
यस्तै आरडीटी विधिबाट ५४ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हाल देभरका आइसोलेसनमा १ सय ३३ जना संक्रमित तथा कोरोना आशंका गरिएका बिरामीहरु रहेका छन् । यस्तै देशभरका क्वारेन्टाइमा १७ हजार ३ सय ७२ जना रहेका छन् ।