बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् साबिक समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भन्दै उनले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था नरहेको बताए । सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरुविरुद्ध जाहेरीसमेत नलिएको उनले बताए । भट्टराईले अघि भने, ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने ?’
प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस्’ उनले अघि भने, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’
ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गरे । ‘६०÷६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ’ उनले भने ।
यसैबीच सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद अपहरणको यथार्थ संसदको चालु अधिवेशनमा बाहिर आउने भन्दै आफूहरू कुनै पनि प्रकारको आपराधिक गतिविधिको पक्षमा नरहेको बताएका छन् ।
संघीय संसद्को छैटौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले सांसद अपहरणको विषमया चालु अधिवेशनमा सत्य र यथार्थ बाहिर आउने बताएका हुन् । शुक्रबारको बैठकमा उनले भने, 'हामी कुनै प्रकारका आपराधिक कार्यको पक्षमा छैनौं ।'
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पार्टी फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा महोत्तरीबाट अहपरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।