पूर्व आइजीपी खनालसहित २ नेकपा सांसदबिरुद्ध अपहरण मुद्दामा छानविन सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत तथा कृष्णकुमार श्रैष्ठ (किसान श्रेष्ठ) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले दर्ता गरेको जाहेरी दर्खास्त पठाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक न्यायाधीवक्ता नुमराज खनालले समाजवादी पार्टीका सांसद डा. यादवका तर्फबाट दर्ता भएको जाहेरीका विषयमा अनुसन्धान गर्न प्रहरीलाई पठाइएको जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जाहेरी दर्खास्त पठाएपछि उक्त विषयमा अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए । हाललाई प्रारम्भिक अनुसन्धान शुरु गरिएको र आवश्यकताअनुसार विस्तृत अनुसन्धान गरिने एसएसपी ज्ञवालीको भनाइ छ ।
बैशाख १० गते समाजवादीका पार्टी सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदहरु महेश बस्नेत, किसनकुमार श्रेष्ठ र पूर्वआइजीपी सवेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।
पछि सांसद यादवले आफूलाई अपहरण गरी काठमाडौं ल्याइएको भन्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न खोजेका थिए । तर, प्रहरी परिसरले घटनास्थल काठमाडौं बाहिर रहेको भन्दै जाहेर दर्ता गर्न मानेको थिएन ।
प्रहरीले उजुरी दर्ता नगरेपछि डा यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता गराउन खोजेका थिए । तर, त्यतिबेला उजुरीको रित नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले सांसद यादवको उजुरी फिर्ता पठाएको थियो । पछि वैशाख २२ गते मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद यादवको जाहेरी दर्ता गरेको थियो ।