रेलले किचेर भारतमा १४ प्रवासी मजदूरको मृत्यु, मोदीले भने- घटनाले अत्यन्तै पीडा भयो
भारत । महाराष्ट्रको औरंगावादमा रेलले किचेर १४ जना प्रवासी मजदूरको मृत्यु भएको छ । यो घटना औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको हो । बीबीसी हिन्दीका अनुसार सबै मजदूर मध्य प्रदेश गइरहेका थिए ।
रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको बताइएकाे छ । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । घटनाको जाँचका लागि भारत सरकारले आदेश दिएको छ ।
करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।
शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले किचेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । लकडाउनका कारण भारतमा रेल यातायात बन्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।
प्रधानन्त्रीले घटनाप्रति नरेन्द्र माेदीले दुःख जनाएका छन् । यसबारे उनले रेलमन्त्री पीयूष गोयलसँग कुराकानी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा समेत ट्वीट गर्दै मोदीले दुख व्यक्त गरेका छन । ‘औरंगाबाद, महाराष्ट्रमा रेल दुर्घटनाका कारण ज्यान गुमाउ नुपर्दा अत्यन्तै पीडा भएको छ ।’ उनले भनेका छन् – ‘ घटनाबारे रेलमन्त्री श्री पियुष गोयलसँग कुराकानी गरिएको छ र घटनालाई राम्ररी अनुगमन गरिरहेका छन्।’