काेराेना संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषकाे मृत्यु
नयाँदिल्ली । दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए ।
संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए । सुरेशराज न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन्
पछिल्लो संक्रमण बैतडी, दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ । ती संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए । उक्त बजारमा सुदूरपश्चिमका थुप्रै युवाहरु काम गर्ने गर्छन् । स्वास फेर्न गाह्रो हुने र छाती पोल्नेलगायतका कोरोना भाइरसको लक्षण देखिएपछि बिहीबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम नेपाली समाजका कोषाध्यक्ष महादेव भट्टले कान्तिपुरलाई बताए । संक्रमण देखिएपछि उनलाई पहिले रामनोहर लोहिया कोरोना अस्पताल लगिएको थियो । तर, त्यहाँ बेड खाली नभएपछि सुल्तानपुरीको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भट्टले जानकारी दिए ।
संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको सुदूरपश्चिम अछाम मूल घर भएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् । मुम्बईकै थानेमा रहेका अन्य तीन जनामा नेपाली कामदारहरु पनि संक्रमण देखिएको छ । कैलाली घर भएका उनीहरुको उपचार चलिरहेको दूतावासले बताएको छ । साथै मुम्बईकै दानावरमा बस्ने अर्का एक ५७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको पोजिटिभ देखिएको छ । उनको पनि स्थानीय उपचार भइरहेको बताइएको छ ।
महाराष्ट्रकै अर्को सहर पुनेमा बस्दै आएको अछामको एकै परिवारको तीन जना संक्रमित भएका छन् । २८ वर्षीय घरमूली, उनकी २२ वर्षीय श्रीमती र ५ महिनाका छोरामा भाइरसको देखिएको हो । उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।
त्यसैगरी हरियाणाको गुडगावँस्थित एउटा औषधी पसलमा काम गर्दै आएकी ३१ वर्षीय महिला नर्समा पनि संक्रमण पुष्टि भएको छ । दिल्लीस्थित दूतावासका अनुसार नवलपरासी घर भएकी ती महिला नर्सको हाल उपचार चलिरहेको र अवस्था सामान्य रहेको छ ।