संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन

संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन

काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै हो भनेर भन्न नमिल्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचनाको सिकार बनेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीलाई झट्का लागेको छ । उनले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएकी थिइन् ।

तर पार्टीले उनलाई सो संशाेधन तत्काल फिर्ता लिन निर्देशन दिएको छ. संसोधन फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत पार्टीले दिएको छ। समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो । उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।

उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो । संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।

'उपरोक्त सम्बन्धमा संघीय संसदमा दर्ता नेपालको संविधानको दोस्रो संसोधनमा तपाईले संसदीय दलको निर्देशनबिना मिति २०७७/२८ गते संसोधन हालेको हुँदा उक्त संसोधन तुरुन्त फिर्ता लिनहुन निर्देशन गरिन्छ । साथै निर्देशन पालना नगरेमा तपाईलाई पार्टीले कारवाही गर्न बाध्य हुने व्यहोरा जानकारी गराइन्छ ।' निर्देशन पत्रमा भनिएको छ ।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । जुन छलफलमा जसपाकै नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।

सांसद गिरीले भने प्रमाण र तथ्यविनाको उक्त विधेयक खारेजीको सूचना दिएकी छन् । उनले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् । गिरी समानुपातिक सांसद हुन्।

संम्बधित खबर

विशेष