सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु
वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’ प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए ।
प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।
त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।