ग्यास बोकेको चिनिया ट्यांकर बिस्फोट १९ को मृत्यु, १ सय ८९ घाइते
काठमाडौँ । चीनमा ग्यास बोकेको ट्यांकर बिस्फोट १९ जनाको मृत्यु भएको छ। शनिबार स्थानीय पौने पाँच बजे झेजियाङ प्रान्तको दक्षिण सांघाईको वेलिङ शहरनजिकैको शेन्याङ हाइकौउ एक्स्प्रेस वेमा ट्यांकर बिस्फोट भएको थियो। ट्यांकर बिस्फोटबाट नजिकैका भवनहरूमा पनि क्षति पुगेको थियो।
बिस्फोटमा परी १९ जनाले ज्यान गुमाएको र एक सय ८९ जना घाइते भएको चिनियाँ समाचार संस्था सिह्वाले जनाएको छ। वेलिङ शहरका मेयर झु मिङलियनका अनुसार उक्त ट्यांकर निङबोदेखि वेङझोउ जाँदै थियो। दुर्घटना कसरी र के कारणले भएको भन्ने खुलेको छैन। यसबारेमा अनुसन्धान भइरहेको मेयर मिङलियनले बताएका छन्। घाइतेहरूको ६ वटा विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि उद्दार गर्न दुई हजार ६ सय मानिस खटाइएको थियो। स्थानीय पत्रिका चोङक्विङ डेलीका अनुसार उक्त दुर्घटनामा परेको ट्यांकरको कम्पनीलाई सरकारी कार्यालयले ११ पटक जरिवाना तिराइसकेको छ। स्वास्थ्य र सुरक्षामा ध्यान नदिएको भन्दै उक्त कम्पनीमाथि कारबाही भएको थियो।