थुप्रै पत्रकारको करारको म्याद सकिँदैछ र बेरोजगार पत्रकारको संख्या अकल्पनीय रुपमा थपिँदैछ
डरलाग्दो अवस्था आउँदैछ देशमा
कोभिड–१९ को विश्वव्यापी प्रकोपले विश्व अर्थतन्त्रलाई अकल्पनीय रुपमा पछाडि पारेको सन्दर्भमा नेपाल त्यसबाट अछुतो हुने कुरा त भएन नै ।
तर, नेपालका केही दर्दनाक चित्र पेश भएका छन्, प्रेस काउन्सिल नेपालले सरोकारवालाहरुसँग हिजो मङ्गलवार गरेको एक छलफलमा ।
अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालका अनुसार, असारको अन्तिमसम्म थुप्रै पत्रकारको करारको म्याद सकिँदैछ र बेरोजगार पत्रकारको संख्या अकल्पनीय रुपमा थपिँदैछ ।
कतिपय मिडिया हाउसले कोरोनाकै नाममा पत्रकारलाई कामबाट निकाल्न लागेको अवस्था छ ।
सूचना तथा प्रशारण विभागलाई असार मसान्तभित्र अद्यावधिक गराइने पत्रकार दरबन्दी विवरणमार्फत करार नवीकरण नभएको जनाऊ दिने तयारी पनि चल्दैछ ।
अहिले पनि ठूलै भनिएका मिडिया हाउसले आधा पत्रकारलाई मात्र तलब दिएका छन् ।
कतिपय मिडिया हाउसले तलब नियमित दिएको नाममा १० देखि २० प्रतिशत दिएर औपचारिकता पूरा गरेका छन् । र, कतिपयलाई काममा नआउन भनिएको छ ।
यसरी बढी तलब दिनुपर्ने पत्रकारलाई कटौती र कम तलबमा काम गर्नेहरु राख्ने कार्य शुरु भएको हो । पछिल्लो समयमा धेरै मिडियाले राम्रैसङ्ग पत्रकार कटौती गरेका छन् ।
त्यसमाथि एउटै मान्छेले मिडिया चलाउँछ भन्ने उदाहरण दिन थालिएको छ,एभेन्युजलाई सुशील पाण्डे एक्लैले धानेका छन् ।
रेडियोको रोदन
सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब) का अध्यक्ष सुवास खतिवडाले रेडियोहरु बन्द गर्नुपर्ने स्थिति आउन थालेको सुनाए ।
देशभर सञ्चालनमा रहेका ३ सय २० सामुदायिक रेडियोहरु सरदर मासिक १ लाख ४५ हजार आम्दानी गर्थे । तर,अहिले आम्दानी घटेर ४० हजार पुगेको छ ।
विज्ञापन एजेन्सी संघका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठका अनुसार सूचीकृत करिव ३ सय २० एजेन्सीहरु संकटमा परेका छन् । उत्पादनमूलक उद्योगले आफ्नो व्यवसाय प्रवद्र्धनका निम्ति गर्ने पहिलो काम हो, विज्ञान दिने ।
तर, लकडाउनको तीन महिनामा बिज्ञापन एजेन्सीहरुको आयमा ४ अर्बले घाटा लागेको छ । यिनीहरुले कहाँबाट पैसा ल्याएर मिडियालाई भुक्तानी दिने भन्दैछन् !