News

आइसोलेशन कक्ष थप गरिँदै

आइसोलेशन कक्ष थप गरिँदै

 दमौली-गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेशन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिनुभएको छ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशन कक्षको निरीक्षणपछि उहाँले जिल्लामा थप आइसोलेशन कक्षको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको हो ।

आइसोलेशन कक्षको अभावमा कोरोना सङ्क्रमित क्वारेन्टिनमै बस्नुपर्ने अवस्था आएको जनाउँदै उहाँले पर्याप्त आइसोलेशन कक्ष बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले आइसोलेशन कक्षको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने समेत जानकारी गराउनुभयो । 


प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिल्लामा आइसोलेशन कक्ष थप गर्नका लागि ठाउँको खोजी गरिएको जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।(रासस)
 

विशेष